सुलक्षण कीर्ति क्याम्पसको संक्षिप्त चिनारी

क्याम्पस परिचय
बौद्ध ज्ञान–विज्ञान, दिगो शान्ति, दिगो विकास, कानुन, शिक्षा–शिक्षण, सामाजिक, राजनीतिक, आर्थिक अध्ययन र सोसँग सम्बन्धित अन्य वातावरणीय ज्ञान–विज्ञानका विधाहरूमा विश्वविद्यालय तहको अध्ययन–अनुसन्धान गर्ने प्राज्ञिक निकायको रुपमा यस सुलक्षण कीर्ति क्याम्पसको स्थापना गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीच बि.स. २०७७ साल फागुन २५ गते भएको शैक्षिक सहकार्यको सम्झौताबमोजिम जनस्तर र सहभागिताबाट सञ्चालित मुनाफारहित सामुदायिक–सामाजिक साझेदारी मोडेलमा यसको गठन र सञ्चालन हुँदै आएको छ ।

यो सुलक्षण कीर्ति क्याम्पस नेपालको प्रचलित कानुनअनुसार लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, विश्वविद्यालय अनुदान आयोग ऐन तथा नेपाल पब्लिक क्याम्पस संघको सामुदायिक क्याम्पस स्थापना सम्बन्धी व्यवस्थाहरूको अनुसरण गरी लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति क्याम्पस सञ्चालक समितिले अनुमोदन गरेको क्याम्पस नियमावली, शैक्षिक प्रशासन विनियम, शिक्षक-कर्मचारी विनियम, आर्थिक विनियम एवं समय समयमा सञ्चालक समितिको बैठकबाट पारित निर्णयहरु बमोजिम सञ्चालन, व्यवस्थापन तथा रेखदेख हुनेछ ।

क्याम्पसको अवस्थिति
यस क्याम्पसको केन्द्रीय कार्यालय तथा अनुसन्धान केन्द्र काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका, वडा ६, सुन्दरीघाटस्थित सुलक्षण कीर्ति विहारको प्रांगणमा रहेको छ । सम्बन्धित सरोकारवालाहरूसँगको सहकार्य र साझेदारीमा काठमाडौं उपत्यकाका विभिन्न लक्षित स्थानहरूमा समेत क्याम्पसका शैक्षिक तथा अनुसन्धानात्मक सेवा तथा कार्यक्रमहरू विस्तारित गर्न सकिनेछ ।

सुलक्षण कीर्ति क्याम्पसको मूल आदर्श
हामी सबै व्यक्ति, परिवार, समुदाय र राष्ट्रको भौतिक, आर्थिक, सामाजिक, राजनीतिक तथा आत्मिक सुख, खुसी र सम्पन्नता सहितको दिगो शान्ति, सुशासन, न्याय र विकासको साझा लक्ष्यमा पुग्न टेवा पुर्याउन स्वयं यो सुलक्षण कीर्ति क्याम्पस भौतिक, आर्थिक, शैक्षिक, अनुसन्धान र व्यवस्थापनको हिसाबले सक्षम, गुणस्तरीय, दिगो, जिम्मेवार, असल, कुशल र गतिशील ढङ्गले निरन्तर नेतृत्व दिन सक्ने अब्बल र नमुना प्राज्ञिक निकाय बन्ने प्रमुख ध्ययका साथ;

बौद्ध धर्म, दर्शन, ज्ञान–विज्ञान, ध्यान र नैतिक म्ूाल्य मान्यतामा आधारित शिक्षा, उद्यमकला, क्षमता एवं सीपमार्फत शारीरिक तथा मानसिक स्वस्थता, सम–न्याय, स्वतन्त्रता, समानता, एकता, सम्पन्नता, खुशी, सकरात्मक सोंच, प्रवृत्ति र व्यवहारले युक्त अर्थपूर्ण दिगो शान्ति, सुशासन, न्याय र विकास सहितको मानव जीवन–पद्धति र सभ्यता स्थापनामा योगदान पुर्याउने ।

उद्देश्यहरू
(क) यो क्याम्पसको पहिलो र प्राथमिक काम तथा उद्देश्य लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीच भएको शैक्षिक सहकार्यको सम्झौता बमोजिम मास्टर इन बुद्धिजम एण्ड सस्टेनेवल डेभलपमेन्ट (Master in Buddhism and Sustainable Development - MBSD) कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने ।
(ख) लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा कानुन, शिक्षा–शिक्षण, सामाजिक, राजनीतिक तथा आर्थिक अध्ययन एवं बौद्ध चिन्तनका अन्य शैक्षिक एवं अनुसन्धात्मक कार्यक्रमहरुसमेत स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहमा सञ्चालन गर्ने ।
(ग) लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको शैक्षिक सहकार्यको सम्बन्धलाई थप प्रभावकारी विश्वासिलो, विस्तारित र दिगो बनाउँदै लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक अनुसन्धानात्मक तथा समग्र प्रा ज्ञिक उन्नयनमा सहयोग पुर्याउने ।
(घ) लुम्बिनी सभ्यता र बागमति सभ्यताको समायोजनमा सरोकारावालाहरूको सहकार्यमा काठमाडौं उपत्यकाको दिगो विकासको चुनौतीहरूलाई पहिचान गरी सामाजिक, आर्थिक, वातावरणीय न्याय, सुशासन र सन्तुलन सहितको सुसंस्कृत काठमाडौं तथा बागमति सभ्यता निर्माणमा सहयोगपुर्याउने मुलभुत उद्देश्य रहेको छ ।